काठमाडौं । जर्मनीमा ठूलो संख्यामा नेपाली पक्राउ परेका छन् ।काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न लागेका ऊनीहरुलाई फ्र्यांकफर्ट विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
यही रुटबाट मेक्सिको पुगेका केही व्यक्तिलाई मेक्सिको प्रहरीले फ्र्यांकफर्ट डिपोर्ट गरेको थियो । अन्य केही भने मेक्सिको उड्ने तयारीमा थिए । मेक्सिकोबाट डिपोर्ट भएकाहरूलाई भने मस्को फिर्ता पठाउन लागिएको जर्मन सुरक्षा निकायले बताएको जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले जानकारी दिए । उनीहरूले अमेरिका छिर्नका लागि जनही ३८ लाख रुपैयाँ तिरेका थिए । राजदूत खड्काका अनुसार दूतावासले जर्मनीको सुरक्षा एजेन्सीसँग सम्पर्क गर्दा १८ जना नेपाली आफ्नो नियन्त्रणमा रहेको बताएको छ ।
पक्राउ परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा भएकाले शंका लागेर समूहका सबैलाई नियन्त्रणमा लिइएको जर्मन सुरक्षा संस्थाले जानकारी दिएको खड्काले बताए । फ्र्यांकफर्ट विमानस्थलमा कार्यरत श्याम खनालका अनुसार १८ जनाबाहेक मेक्सिकोबाट फर्काइएका र मस्कोदेखि मेक्सिको जान उडेका अन्य नेपाली पनि थपिएका छन् । उनका अनुसार विमानस्थलको अर्को टर्मिनलबाट पक्राउ पर्नेको संख्या यकिन भइसकेको छैन ।