धनगढी । सुदुरपश्चिम सरकार बिस्तार भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का सांसदहरु तारा लामा तामाङ र माया तामाङ बोहरा शुक्रबार मन्त्री नियुक्त भएका हुन् । तारा लामा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् भने सोही मन्त्रालयको राज्यमन्त्रीमा माया नियुक्त भएकी छिन् । दुवै जनालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री र राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनीहरुलाई साँझ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका हुन् । राज्यमन्त्री बोहरालाई भने मुख्यमन्त्री भट्टले शपथ गराएको छन् । नेकपा एमाले विभाजन हुनुअघि तारा लामा तामाङ माधव नेपाल समूहमै थिए । राज्यमन्त्री नियुक्त बोहरा भने सुरुदेखि नै केपी ओली समूहमा थिइन् । समाजवादी पार्टी गठन हुने बेला अन्तिम समयमा बोहराले पनि एमाले छाडेकी थिइन् । त्यसअघि आर्थिक मामिला तथा योजनामन्त्री रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले एमालेमै रहने निर्णय गरेपछि पदबाट राजीनामा दिएका थिए । सुदूरपश्चिममा हाल नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी सहितको सुंयुक्त सरकार छ । ५२ जना कुल सदस्य रहेको प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको आवश्यकता पर्दछ । समाजवादीका १४ र नेकपा माओवादी केन्द्रका १३ जनाले सो प्रदेशमा बहुमतको सरकार बनेको हो ।