नवलपुर । नवलपुरको गैंडाकोटमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।
गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुलनजिकै पश्चिमतर्फ जाँदै गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाएका थिए।
दुर्घटनापछि बस सडकबाट तल खस्दा ३ जनाको मृत्यु भएको र २४ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।