काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ । संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।
दिउँसो साढे २ बजेका लागि सभामुखले बोलाएको बैठक संसद भवनको ल्होत्से हलमा बस्ने छ। प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।
सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ।
आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले सदर नगरेको विरोधमा नेकपा एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ।
यसअघि सभामुख सापकोटाले आइतबार कानुनमन्त्री राखेर नेकपा (एमाले) का सांसदसँग पनि वार्ता गरेका थिए । सभामुखले वार्ता गरेर बैठक राखे पनि वार्तापछिको बैठक एमालेले अवरोध गरेको थियो ।
सभामुख सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् । एमालेले यही भदौ २३ गतेदेखि संसद् बैठक अवरोध गर्दै आएको छ ।