ललितपुर । ललितपुरको ६ स्थानीय तहका २८ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) दल रोजेका छन् ।
माधवकुमार नेपालले नयाँ दल दर्ता गरेपछि निर्वाचन आयोगले देशभरका जनप्रतिनिधिलाई गएको भदौ २ देखि २२ गतेसम्म दल रोज्न समय निर्धारण गरेको थियो । त्यहीअनुसार ललितपुरका ३ वटा स्थानीय तहका २८ जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय ललितपुरमा गएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ ।
ललितपुर महागरपालिकाका एमालेबाट निर्वाचिन तीन जना वडाअध्यक्ष र महालक्ष्मी नगरपालिकाका उपप्रमुख, तीन जना वडाअध्यक्ष एकीकृत समाजवादी रोजेका छन् । त्यस्तै ललितपुर महानगर र महालक्ष्मी नगरका गरी २१ जना वडा सदस्यले पनि एकीकृत समाजवादी रोजेका छन् । वागमती प्रदेश सांसदमा भने माधव पौडेलमात्र समाजवादीमा खुलेका छन् ।
ललितपुरको स्थानीय तहअन्तर्गत नेकपा एमालेबाट प्रमुखदेखि सदस्यसम्म १ सय ९२ पदमा निर्वाचन जितेको थियो, जसमध्ये २८ जन जनप्रतिनिधिले नेकपा एसमा सनाखत गरेका छन् । बाँकी १ सय ६४ जना एमालेमै रहनेभएका छन् ।