ललितपुर । दलित महिलालाई बोक्सीको आरोप लगाई दिसा खुवाउने बिमला थिङ (लामा) काँग्रेसको वडा इकाइ सभापति निर्वाचित भएकी छन् । भदौ २१ गते भएको ललितपुरको बागमती गाउँपालिका वडा नं. ४ प्युटारको वडा अधिवेशनबाट उनी इकाइ सभापतिमा निर्वाचित भएकी हुन् । ०६५ चैत ७ गते लामाले प्युटारकी कल्लीकुमारी विकलाई बोक्सीको आरोप लगाउँदै दिसा खुवाउनुका साथै कुटपिट गरेकी थिइन । त्यसको आरोपमा प्रहरीले उनलाई पक्राउ पनि गरेको थियो । प्युटारकै भञ्ज्याङ् प्राथमिक विद्यालयकी प्रधानाध्यापिका रहेकी लामाको दुर्ववहार र कुटपीट सहेर पनि विक बाँच्न सफल भएकी थिइन । पीडक लामा पक्राउ परिन्, मुद्दा अदालतसम्म पुगेको थियो । प्युटारकै नेता कवेलबहादुर लामाको दवाव र प्रभावमा लामालाई सो मुद्दाबाट उन्मुक्ति दिइएको स्थानीयले गुनासो गरेका छन् । स्थानीयले समाजमा द्वेष फैलाउने लामालाई गाउँकै सभापति बनाउन वागमती गाउँपालिकाका अध्यक्ष विरबहादुर लामाको भुमिका रहेको आरोप लगाएका छन् ।
सोमबार सम्पन्न बागमती गाउँपालिकाको सात वटै वडामा सर्वसम्मत रुपमा कांग्रेस वडा सभापतिहरु निर्बाचित भएको कांग्रेसका स्थानीय नेता विष्णु प्रसाद तिमल्सिनाले सामाजिक सञ्चाल मार्फत जानकारी दिए । वडा न १ घुसेल सभापति गोविन्द गौतम, वडा न २ माल्टा सभापति रामबहादुर लामा, वडा नं. ३ भट्टेडाडा सभापति गोविन्द दाहाल, वडा न ४ प्युटार सभापति विमला लामा, वडा न ५ इकुडोल सभापति दिपक सिँगार, वडा न ६ आश्राङ सभापति नारायण भोम्जन र वडा न ७ गिम्दी सभापति दिनेश राना मगर निर्वाचित भएका छन् ।