काठमाडौं । नेकपा एमालेका तेस्रो धारका नेताहरु अन्ततः एमालेमै रहने भएका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच भएको छलफल सकरात्मक भएकाले उनीहरु एमालेमै रहने भएका हुन् ।
सोमबार ओलीसँग छलफलका लागि उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिब घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बालकोट पुगेका थिए ।
यसअघि माधवकुमार नेपाल निकट रहेका उनीहरु पार्टी विभाजनमा भने तठस्त बसेका थिए । मंगलबार नेता नेपालको नेतृत्वमा नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा सनाखत हुँदैछ ।
तेस्रो धारका नेताहरुसँग सहमति जुटेपछि अध्यक्ष ओलीले मंगलबारका लागि स्थायी कमिटी बैठक बोलाएका छन् । तेस्रो धारका नेताहरु मंगलबार स्थायी कमिटीको बैठकमा सहभागी हुनेछन् ।
यसअघि माधव नेपाललाई साथ नदिएका उपाध्यक्ष रावलसहितका ९ जना स्थायी कमिटी सदस्यले विज्ञप्ति जारी गरी १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष ओलीलाई मंगलबारसम्मको अल्टिमेटम दिएका थिए ।