काठमाडौँ । निर्वाचन आयोगले दल विभाजनका लागि निवेदन दिएका नेकपाएमालेको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई भदौ ९ गते सनाखतका लागि उपस्थित हुन आह्वान गरेको छ।
सरकारले दल विभाजनलाई सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेपालले नेकपा एकीकृत (समाजवादी) र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन्।
प्रमुख आयुक्त दिनेश थपलियाले भदौ ९ गते बिहान ११ बजेदेखि दिउँसो २ः३० बजेसम्म विभाजनको पक्षमा सनाखत गर्न आह्वान गरिएको जानकारी दिए।
उनका अनुसार केन्द्रीय सदस्यले नागरिकता वा मतदता परिचयपत्र र सांसदले संसद सचिवालयले दिएको परिचयपत्र लिएर लिएर आयोगमा जानुपर्ने छ। आयोगले भदौ ९ गते पार्टी विभाजनको पक्षमा सनाखत गर्न नगएका सांसदले पछि दल परिवर्तन गर्न नपाउने जनाएको छ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गरेर सरकारले दल विभाजनका लागि केन्द्रीय कमिटि र संसदीय दलमा ४०–४० प्रतिशत चाहिने प्रावधानलाई हटाएर दुई मध्ये एकातिर मात्रै २० प्रतिशत सदस्य मात्रै भए पनि विभाजन गर्न पाउने प्रावधान राखेको छ।
उक्त २० प्रतिशत पुर्याएर नेपाल र ठाकुरले दल विभाजनका लागि आयोगमा निवेदन दिएका हुन्।