काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको छ ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिलाई विवाद निरूपणका लागि एक दिनको समय प्रदान गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक बिहीबार फेरि बस्दैछ ।
समितिले हिजो मङ्गलवार मात्रै पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरणसम्बन्धी प्रतिवेदन बुझाएको थियो । २०७७ फागुन ६ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आसन्न १४ औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो ।