काठमाडौं । आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालनमा आएका छन्। सरकारको साउन ४ गतेको निर्णयअनुसार आजदेखि सवारी सञ्चालनमा आएका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरेको छ।
अब देशका विभिन्न जिल्लाबाट काठमाडौं आउने सवारी साधनले सहज प्रवेश पाउनेछन्। तर‚ यात्रु र बसका चालक तथा सहचालकले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने प्रशासनले जनाएको छ। प्रशासन कार्यालयले अनिवार्यरूपमा टिकट काटेर मात्रै यात्रा गर्न पनि यात्रुलाई अनुरोध गरेको छ।
कोरोना महामारीका कारण झण्डै साढे तीन महिनादेखि लामो तथा मध्यम दूरीका सवारी बन्द रहेका छन्।