ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको केन्द्रीय समितिको बुधबारको बैठकमा उनले पार्टी एकताका लागि हर संभव प्रयास गर्ने बताएका हुन् ।
पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिबद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ' बैठकपछि पत्रकारसँग पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, 'तर पार्टी आन्दोलनलाई घात गर्ने कुनै पनि खालका हर्कतलाई भने सफल हुन नदिइने अध्यक्ष ओलीले बताउनु भयो ।' एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । बैठकले जनताको पक्षमा काम गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिको पुरानै अवस्थामा पुर्याउने, प्रतिपक्ष दलको हैसियतमा जन सरोकारका चासोलाई सम्बोधन गर्न सरकारलाई दबाब दिने गरी अघि बढने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए ।
उनले नेपाल मिल्ने हो भने आफू दोस्रो अध्यक्ष दिन तयार रहेको घोषणा गरे । 'माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागेका छन्', उनले भने, 'मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल यदि आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु।' तर एकताका लागि आफू हदैसम्म लचिलो हुँदा पनि नेपालले अनेक बहान गरेको गुनासो गरेका छन्। 'मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन। अनेक बहाना खोजिएको छ, गरिएको छ', उनले अगाडि भने, 'यतिसम्म लचिलो हुँदा पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन्। किन? हामीलाई पार्टीबाट निकाल्न? ढुक्क हुनूस् कमरेडहरु, त्यस्तो हुन दिइने छैन। किनकि, यस्तो अभ्यास उनीहरुले पहिले पनि गरेका छन्।'