काठमाडौं । सरकारले पूर्ववर्ती सरकारले गरेको ११ देशका राजदूतहरुको नियुक्तिसम्बन्धी निर्णय खारेज गरेको छ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजदूत नियुक्ति सम्बन्धी निर्णय खारेज गर्ने निर्णय गरेको हो।
पूर्ववर्ती सरकारले अस्ट्रियामा निर्मलराज काफ्ले, श्रीलंकामा रमेशचन्द्र पौडेल, इजिप्टमा जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियामा कृष्णचन्द्र शर्मा, रसियामा जंगबहादुर चुहान, अष्ट्रेलियामा सुम्निमा तुलाधारलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
त्यस्तै, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलमा कुलप्रसाद नेपाल, डेनमार्कमा सुमित्रा सुवेदी, साउदी अरबमा मेराज मुसलमान र बहराइनमा युवराज कार्कीलाई राजदूतमा सिफारिस गरेको थियो। कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चले उनको नियुक्ति खारेज गरेको थियो ।
देउवा सरकारले गरेको पूर्ववर्ती सरकारले गरेका निर्णय उल्ट्याउने यो पहिलो निर्णय हो।