काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन्।
प्रहरीका अनुसार झापा, धनुषा र कैलालीमा गरी पाँच जनाले ज्यान गुमाएका हुन्। झापा, भद्रपुर नगरपालिका–२ स्थित सडकमा मे १ त २८२१ नम्बरको ट्याक्टरमा मे १ ह ६४१९ नम्बरको अटो ठोकिएर अटोमा सवार दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा सोही नगरपालिका–१ केन्द्रमोड बस्ने ३६ वर्षीया नानी भन्ने छविमाया लिम्बुको घटनास्थलमै तथा भद्रपुर नगरपालिका–१ बस्ने ४० वर्षीय डम्बर बहादुर लिम्बुको ओमसाई पाथिभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै घाइते भएका अटो चालकलाई थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लगिएको प्रहरीले जनाएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषा, गणेशमानचारनाथ नगरपालिका–६ गोदारस्थित सडकमा स १० प ४३९५ नम्बरको मोटरसाइकल र ज १२ प ८९५४ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर मोटरसाइकलका चालकको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका ज १२ प ८९५४ नम्बरको मोटरसाइकल चालक महोत्तरी गौशाला नगरपालिका–२ बस्ने आयुब नदाफको फुल कुमारी मेमोरियल अस्पताल कर्जनाहा सिरहामा र स १० प ४३९५ नम्बरको मोटरसाइकल चालक सिरहा लहान नगरपालिका–१५ बस्ने २८ वर्षीय साजन चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
कैलाली, लम्कीचुहा नगरपालिका–६ स्याउलेस्थित सडकमा से ३ प ५९५४ नम्बरको मोटरसाइकल चौपायासँग ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक जोशीपुर गाउँपालिका–२ बस्ने २६ वर्षीय पदम चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल हुँदै कोहलपुर मेडिकल कलेज नेपालगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो।