काठमाडौं । नेकपा (एमाले) ले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताको उपस्थिति शुक्रबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै नेकपा एमाले विवाद मिलाउनका लागि बनेको कार्यदल विघटन गर्ने निर्णयसमेत गरेको छ। पार्टी एकता जोगाउन २ जेठमा बनेको कार्यदल विघटन गर्ने निर्णय गरिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
‘बैठकले कार्यदलको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने, कार्यदलका लागि ओली सरकारलाई धन्यवाद दिने निर्णय गरेका छौँ । कार्यदलले राम्रो काम गरेको र कार्यदलको सुझावलाई पार्टीले लिनेछ र कार्यदल विघटन गर्ने निर्णय गरेका हौं ’, ज्ञवालीले भने।
बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहरसमेत गरेको छ।
यस्तै आजको बैठकले सर्वोच्च अदालतको फैसलाई स्वीकार्ने निर्णय गरेको समेत नेता ज्ञवालीले जानकारी गराए।
यसैबीच आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरू स्थायी कमिटी बैठक स्थगित गर्न माग राख्दै पुगेका थिए।
कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने भन्दै उनीहरूले बैठक रोक्न माग राखेका थिए। तर ओलीले कार्यसूची अनुसार बैठक अघि बढ्ने भन्दै अस्वीकार गरेका थिए।
बैठक सार्न अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि उनीहरू फर्किएका हुन्।
बैठकमा उपस्थितिको हस्ताक्षर गर्न भनिए पनि आफूहरूले हस्ताक्षर नगरेको उनीहरूले बताए।
च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरूको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू पनि पुगेका थिए।
बैठकस्थलमा उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका थिए।