काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो पारिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको केही दिनअघि बसेको बैठकले आजदेखि एक सातासम्मका लागि निषेधाज्ञा थप्दै केही खुकुलो बनाउने निर्णय गरेको थियो ।
जस अनुसार आजदेखि हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी सञ्चालन गर्न पाइने छ ।
हार्डवेयर र पुस्तक पसलहरु बिहान ११ बजेसम्म मात्र खुल्ला हुनेछन् भने अनलाइन डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइने छ ।
त्यस्तै हिजोसम्म ९ बजेसम्म मात्र खोल्न पाइएको किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु आजदेखि बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।
यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल पनि बिहान ११ सम्म मात्र खोल्न पाइनेछ ।
वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाउँछन्। अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ।
एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु पर्दैन।
बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ। सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसलहरू खुल्न दिने निर्णय भएको छ।
कूटनीतिक निकायबाट जारी हुने भिसा, परीक्षा र अन्तर्वार्ताका लागि आउजाउ गर्ने मानिसहरूलाई नरोकिने भएको छ।