पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् ।
संविधानको धारा १६८ (३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।
ठूलो दलका नेताको हैसियतले गत २९ वैशाखमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत मागेका थिए । तर, ६० सदस्यीय प्रदेश सभाका २७ एमाले सांसदबाहेक अरुले उनलाई साथ दिएनन् । ५७ मत खसेकोमा उनको विपक्षमा ३० मत परेको थियो ।
बैठकमा सहभागी भए पनि राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका थिए ।
विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।
यसबमोजिम कसैले दाबी गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने संवैधानिक व्यवस्था छ।