काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको छ।प्रधानन्यायाधीश राणाले आज आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिएका थिए। उनी बिरामी परेपछि कर्मचारीले इजलासमा रहेका अन्य न्यायाधीशलाई आज इजलास नबस्ने सूचना दिएको संवैधानिक इजलासमा रहेका एक न्यायाधीशले जानकारी दिएका छन। प्रधानन्यायाधीश राणाको स्वास्थ्यमा के समस्या भएको हो भन्नेचाहिँ खुलिसकेको छैन। सर्वोच्च स्रोतका अनुसार संवैधानिक इजलासको अर्को पेसी बुधबार तोकिनेछ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए। इजलासमा भएका न्यायाधीशहरूमाथि नै प्रश्न उठेपछि अघिल्लो सातादेखि यो इजलास मुद्दाको मूल विषयमा अघि बढ्न सकेको छैन। आइतबार पनि न्यायाधीशहरूको निष्पक्षतामाथि प्रश्न उठेपछि त्यसमै बहस भएको थियो। आइतबारको सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारा ७६ ९५० अनुसार प्रधानमन्त्री बनाउन आदेश माग गर्दै रिट दिएका चार जनाले संवैधानिक इजलासको रोस्टरमा भएका कुनै पनि न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने निवेदन दिएका थिए।
संवैधानिक इजलासको रोस्टरमा प्रधाननन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन्। यी न्यायाधीशहरूको संसदीय सुनुवाइ गरी अनुमोदन गर्ने समितिमा अहिले प्रतिनिधिसभा विघटनविरूद्ध रिट दिएका कतिपय निवेदकसमेत भएको तर्क गर्दै ओली पक्षका वकिलहरूले रोस्टरले यो मुद्दा हेर्न नमिल्ने निवेदन दिएका हुन्। सुरूमा अधिवक्ता राजाराम घिमिरेले निवेदन दिएका थिए। त्यसपछि ओली पक्षका अरू तीन जनाले पनि उक्त निवेदनमा समर्थन जनाएका छन।प्रधानन्यायाधीश राणाले भने इजलासको मर्यादा नराखे अवहेलनामा कारबाही हुने चेतावनी दिएका छन।