काठमाडौं । संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ गर्न बनेको संवैधानिक इजलास प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज पुनर्गठन गरेका छन्।
यसअघि गठित इजलासप्रति प्रश्न उठेपछि प्रधान्यायाधीश राणाले आइतबार न्यायाधीशको वरिष्ठताका आधारमा पुनर्गठन गरेका हुन्।
इजलासमा राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।
प्रधानन्यायाधीश राणाले यसअघि गत १४ गते गठन गरेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ थिए।
वरिष्ठतामा अगाडि भए पनि न्यायाधीशद्वय हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठलाई इजलासमा राखिएको छैन । न्यायाधीश कार्की केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएकाले इजलासमा नराखिएको हो भने न्यायाधीश श्रेष्ठ आइसोलेसनमा छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि परेका रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश कार्कीलाई राखिएपछि प्रश्न उठेको थियो । संवैधानिक इजलासमा आफ्नो उपस्थितिलाई लिएर प्रश्न उठेपछि न्यायाधीश कार्कीले इजलास छोडेर विवाद समाधान गरेका थिए ।