काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाईका गठन गरिएको संवैधानिक इजलास पुनर्गठन हुने भएको छ । इजलासका दुई सदस्य वरिष्ठ न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट आफूलाई अलग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जेठ २३ गते इजलास पुनर्गठन गरेर नयाँ इजलास तोक्ने घोषणा गरेका हुन् । मंगलबारको इजलासमा प्रधानन्याधीश जबराले नयाँ इजलास वरिष्ठताको आधारमा तोक्ने बताएका हुन् । 'वरिष्ठताको आधारमा इजलास तोक्छु । त्यतिबेला रिट निवेदक र विपक्षी कसैले विवाद नगर्नुहोला भनेर आग्रह गर्न चाहन्छु,' प्रधानन्यायाधीशले इजलासमा भने । यससँगै मंगलबारको इजलास सकिएको छ । त्यसअघि मंगलबार बिहान जबरा र सर्वोच्च बारका प्रतिनिधिबिच वरिष्ठताका आधारमा इजलास तोक्ने सहमती जुटेको थियो । इजलासमा नेकपा विभाजनसम्मन्धी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसी समावेश भएको भनेर रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएका थिए । तर, मंगलबार दुवै न्यायाधीशले त्यो मुद्दाको प्रतिनिधिसभा विघटनसँग सम्मबन्ध नभएको भन्दै इजलासबाट अलग हुन अस्वीकार गरेका थिए । त्यसलगत्तै इजलासका सदस्यहरु दिपक कार्की रआनन्दमोहन भट्टलाईले त्यसमा असहमति व्यक्त गर्दै इजलास छोडेका थिए । अनि प्रधानन्याधीशले नयाँ इजलास गठन गर्ने घोषणा गरेका हुन् ।