काठमाडौं । मध्यरात संसद् विघटन गरी मुलकलाई पुनः अर्ली इलेक्सनमा पुर्याइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट सरकार गठनका लागि पेस गरिएको दाबी खारेज गर्दै मन्त्रिपरषद् बैठकको सिफारिसमा दुई चरणमा चुनाव घोषणा गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले अबेर राति दुवै खारेज गरेकी थिइन् । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा चुनाव सिफारिस गरेको थियो । त्यही आधारमा राष्ट्रपतिले मिति तोकेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेकी थिइन् । राष्ट्रपतिको निर्णयपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोकेका हुन् ।
“सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्बारा मिति २०७८–२–८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान् प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नु भएको छ,” राष्ट्रपति कार्यालयले अबेर राति जारी गरेको सूचनामा भनिएको छ ।