ललितपुर । प्रहरीले अक्सिजन सिलिन्डर कालोबजार गर्ने ३ जनालाई नगदसहित महालक्ष्मीथानबाट रंगेहात पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा नुवाकोट विदुर–३ घर भई ललितपुर–१५ सातदोबाटो बस्ने रामकृष्ण घिमिरे, मकवानपुर हेटौंडा–६ घर भई ललितपुर–१२ लगनखेल बस्ने नवराज खनाल र धादिङ गल्छी–२ घर भई महालक्ष्मी–२ इमाडोल बस्ने राम शरण अधिकारी छन् ।
उनीहरुलाई अक्सिजन ग्यासको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गर्ने गरेको गोप्य सूचनाको आधार प्रहरीले पक्राउ गरेको थियो । १५ हजार मूल्य पर्ने भरिएको सिलिन्डर ४१ हजारमा बिक्री गर्न लागिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए ।
उनीहरुलाई कालो बजार र सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा अनुसन्धान भईरहेको जानकारी महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक प्रज्वल महर्जनले दैनिकीन्युजलाई जानकारी दिए ।