नवलपरासी (पश्चिम) । बर्दघाट नगरपालिका–४ खुर्सानी खोला नजिकै ना ५ ख २७१३ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार २ जना पुरुष र २ जना महिला गरी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा ४९ जना घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाट, ईलाका प्रहरी कार्यालय सुनवल र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले घाइतेहरुको उद्धार कार्य गरिरहेको छ ।
यसैगरी पाल्हिनन्दन गाउँपालिका–१ बड्की सुनरीस्थित सडकमा लु ३ त ५९२८ नम्बरको ट्याक्टरले युपि ५६ एडि ७५४६ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिंदा मोटरसाइकल चालक सोही गाउँपालिका(१ रमपुरवा बस्ने २७ वर्षीय अनिल यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।