काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट नेता माधव नेपालबीच पार्टी विवाद टुंगाउने विषयमा सहमति बनेको छ । ओली र नेपालबीच बिहीबार अपरान्ह बुढानिलकण्ठमा भएको भेटवार्तामा ओली फागुन २८ को निर्णय सच्चाउन तयार भएपछि तत्कालका लागि एमाले विवाद टुंगिएको हो । योसँगै सत्तासमीकरणको नयाँ कोर्ष पनि शुरु हुने भएको छ । वार्तापछि नेता नेपालले विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको बताए । ‘मैले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भयो । फागुन २८ निर्णय फिर्ता गर्ने र जेठ २ को अबस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति नजिक पुगेका छौँ’, नेपालले भने, ‘यसका लागि कार्यदल बन्छ । विभिन्न तहमा वार्ता हुन्छ । बिहीबार बिहान एमाले स्थायी कमिटीले नेपालसहित उनको समूहका ४ नेताको कारबाही फिर्ता लिएपछि ओली र नेपालबीच भेटवार्ता सम्भव भएको थियो । बैठकबाटै ओलीले कारबाही फिर्ता लिएको भन्दै थप संवादका लागि नेपाललाई फोन गरेका थिए । सर्वोच्च अदालतले फागुन २३ मा नेकपा एकता भंग गर्दै एमालेलाई व्युताईदिएपछि ओलीले फागुन २८ मा नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गर्दै महाधिवेशन आयोजक कमिटी गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए । त्यसपछि एमालेमा ओली र खनाल-नेपालबीच तनाव सूरु भएको थियो । सहमतिका लागि खनाल नेपालले एमाले र माओवादी एकतापूर्वकै अबस्थामा पार्टी कमिटीलाई फर्काउनुपर्ने अडान राख्दै आएको थियो । विपक्षीहरुले नयाँ गठबन्धनको कोसिस गरेका बेला एमालेका खनाल नेपाल समूहका सांसदको राजीनामा आउन सक्ने अड्कलवाजीबीच ओलीले पार्टीभित्रको विवाद मिलाउने कोशिष थालेका थिए । खनाल–नेपाल समूहले आफ्ना माग पूरा गर्न अध्यक्ष ओलीलाई बिहीबार साढे ४ बजेसम्मको अल्टिमेटम दिएको थियो । तर, ओली र नेपालबीच पाँच बजेसम्म वार्ता नसकिएपछि आजै राजीनामाको सम्भावना टरेको छ । नेता नेपालले ओलीसँगको वार्तापछि भने, ‘राजीनामा दिने आज भएन, दुई चार दिन टर्यो संसदमा ओलीले विश्वासको मत लिने प्रस्ताव गर्दा नेपाल समूहका २८ सांसद अनुपस्थित भएका थिए । तर, ओलीले त्यसपछि थप कारबाहीको प्रक्रिया अडाडि बढाएका थिएनन् । खनाल–नेपाल समूहका पक्षको सांसदको राजीनामा नआएपछि कांग्रेस, माओवादी र जसपाको भट्टराई र यादव समूह मिलेर गठबन्धन बनाउने सम्भावना पनि टरेको थियो । खनाल–नेपाल समूहका कम्तीमा १८ सांसदको राजीनामा आए माओवादी र जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादवसमूह मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउन सक्ने कांग्रेसको विश्वास थियो । यद्यपि खनाल–नेपाल समूहमा सामूहिक राजीनामालाई लिएर विवाद छ । घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डेलगायतका यूवा नेता राजीनामाको पक्षमा थिएनन् । कांग्रेस, माओवादी केन्द्रलाई आजसम्म खनाल नेपाल समूहका २० सांसदले राजीनामा दिन्छन् भन्ने विश्वास थियो ।