ललितपुर । जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सरकार गठनबारे बिहीबार आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । ललितपुर बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले नयाँ सरकार गठनबारे समान धारणा बनाउने विषयमा छलफल गरि निर्णय भने भोलि बिहीबार मात्र गर्न लागेका हुन् ।
सरकार गठनबारे अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो पक्ष र अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पक्षबीच विवाद छ । यादव र भट्टराई विपक्षी गठबन्धनसँग मिलेर बहुमतको सरकार बनाउनुपर्ने पक्षमा छन् भने ठाकुर र महतो सरकार गठनमा सहभागी नहुने पक्षमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा पनि दुवै पक्षले फरक- फरक पक्षमा मत हालेका थिए । ठाकुर र महतो पक्षका सांसद तटस्थ बसेका थिए भने यादव र भट्टराई पक्षका सांसदले ओलीको प्रस्तावको विपक्षमा मत हालेका थिए । सरकार गठनलाई लिएर पार्टीभित्र विवाद कायमै रहेको बेला जसपाका शीर्ष नेताहरूबीच छलफल भएको हो । बैठकमा सरकार गठनका विभिन्न विकल्पबारे विचार आएको भट्टराईले बताए ।
यस आधारमा काङ्ग्रेस सभापति देउवाले बिहीबार वहुमत देखाएर सरकारको दाबी गर्न सक्ने नेताहरू बताउँछन् । जसपालाई एक राख्दा देउवालाई बहुमत पुग्छ ।