पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नै बनेका छन् । निर्धारित समयमा पेश भएको दुई वा दुई भन्दा बढी दलको समर्थन लिएर दर्ता गरिएको निवेदनलाई प्रक्रियामा नलगी प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई मुख्यमन्त्री नियुक्ति दिएकी हुन् । गुरुङ गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेता हुन् । पौडेलले गुरुङलाई नियुक्तिलगत्तै शपथ गराएकी छिन् । विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको दाबीका बाबजुत प्रदेशप्रमुख पौडेलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नै संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रदेश सभामा एमालेका २७ सांसद छन् । मुख्यमन्त्री गुरुङ हाल कोरोना संक्रमित छन् । यसअघि २६ वैशाखमा मुख्यमन्त्री पदबाट गुरुङले राजीनामा दिएका थिए । उनले राजीनामा दिएलगत्तै तीन दिनको समय दिएर प्रदेशप्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी गर्न आह्वान गरेकी थिइन् । त्यो समय बुधबार दिउँसो चार बजे सकिएको हो । तोकिएको समयमै बहुमत दाबी गर्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । उनलाई माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२ जना र जनता समाजवादीका दुई सांसद छन् । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाका दुईजना सांसदले नयाँ सरकार निर्माण प्रक्रियामा आफूहरू सामेल नभएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । सांसद कृष्ण थापा र खिमविक्रम शाहीले सरकार निर्माण प्रक्रियामा अफूहरू सामेल नरहेको र कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा हस्ताक्षर गर्न नसक्ने भन्दै विज्ञप्ति नै सार्वजनिक गरेका छन् । जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट बुधबार नै हटाएको छ ।