पोखरा । गण्डकी प्रदेश सरकार विरुद्ध बिहीबार नै अविश्वासको प्रस्ताव पेश हुने भएको छ । प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने राष्ट्रिय जनमोर्चाले (राजमो) निर्णय गरेसँगै गण्डकी सरकार ढल्ने निश्चित छ ।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन् । सो प्रदेशमा ३ सिट रहेको राजमो निर्णायक छ । राजमो केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी सरकारविरुद्ध ल्याउने अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएपछि अविश्वास प्रस्ताव दर्ताको तयारीमा लागेका हुन् । तीनवटै पार्टीले आफ्ना सांसदलाई पोखरा बोलाएका छन् ।
प्रदेशसभाका कुल सांसदमध्ये १ चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरे पनि अविश्वास प्रसताव दर्ता हुन्छ । तर सकभर सबैजनाको हस्ताक्षर भएमा राम्रो हुने भन्दै सांसदलाई बोलाइएको हो । ‘भोली (बिहीबार) मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नेगरी छलफल चलाएका छौं । सांसदलाई बोलाएका छौ,’ कांग्रेस वार्ता टोलीका संयोजक सांसद कुमार खड्काले भने । त्यसअघि सर्वदलीय बैठक बस्ने तयारीमा दलहरु छन् । केसीले मुख्यमन्त्री गुरुङले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी ओलीको साथ दिएकाले उनीविरुद्ध आउने अविश्वास प्रस्तावको समर्थन गर्ने जनाएका हुन् ।
गण्डकीमा मुख्यमन्त्री कांग्रेसले पाउने पक्का भएको छ । केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र प्रचण्डबिच यो विषयमा मंगलबार छलफल भएर टुंगिएको हो । काङ्ग्रेसका कृष्णचन्द्र नेपाली पोख्रेल अब नयाँ मुख्यमन्त्री बन्ने पक्कापक्की भइसकेको छ ।