जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) ले प्रदेश २ का ४ जना सांसदलाई पदमुक्त गर्न सभामुखलाई सिफारिस गरेको छ।
ती चार जना प्रदेश सभा सदस्य ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि कारबाहीस्वरूप उनीहरूलाई पदमुक्त गर्न सिफारिस गरिएको हो।
माओवादी केन्द्रले प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त गर्न सिफारिस गरेको माओवादी केन्द्र प्रदेश २ को संसदीय दलका नेता भरत साहले जानकारी दिए।
यी चार जना नेकपा एमालेमा लागेपछि पार्टी केन्द्रीय समितिले स्पष्टिकरण सोधेको थियो। २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिए पनि नदिएपछि उनीहरूलाई पदमुक्त गरिएको संसदीय दलका नेता साहले बताए। माओवादी केन्द्रको प्रदेश सभामा ११ जना सांसद थिए।
प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकामा चार जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् । यसैबीच, ६ महिनापछि आज प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे पाँचौं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो ।