काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) का चार जनाको सांसदको पद गुमेको छ । माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए ।
सांसद पद गुमाउनेमा मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन् । प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई पार्टीबाट हटाएको जानकारी गराएको थियो । उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । पछिल्लो पटक उनीहरु नेकपा एमालेमा प्रवेश गरेका थिए ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता देव गुरुङले संघीय संसद सचिवालयमा पार्टीको कार्यकारी समितिको बैठकको निर्णय समावेश गरी आफ्नो दलका ४ प्रत्यक्ष निर्वाचित सांसदहरु टोपबहादुर रायमाझी, प्रभू शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीले अन्य दलको गतिविधिमा संलग्न भएको सूचना दिएका थिए ।