Logo

शनिवार, आश्विन २४ गते २०८३

images

फास्ट ट्राकको दोस्रो प्याकेज रद्द, फेरि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने

फास्ट ट्राकको दोस्रो प्याकेज रद्द, फेरि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने

दैनिकी न्यूज

१९, चैत्र २०७७
फास्ट ट्राकको दोस्रो प्याकेज रद्द, फेरि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने
images

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को सुरुङ र पुल निर्माणको खरिद प्रक्रियाको दोस्रो प्याकेज रद्द गर्न निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा फास्ट ट्र्याक निर्माणमा संलग्न नेपाली सेनाका अधिकारीहरूसँगको छलफलपछि समितिले निर्माणका लागि प्रतिस्पर्धा नभएको सुरुङ र पुल निर्माणको खरिदको दोस्रो प्याकेज रद्द गरेर फेरि नयाँ प्रक्रिया थाल्न निर्देशन दिएको समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिए । 'प्रतिस्पर्धामा प्रि-क्वालिफिकेसनपछि जुन टेन्डर आह्वान गरिएको थियो त्यसमा प्रि-क्वालिफिकेसनबाट छनोट भएको पहिलो प्याकेजमा दुई वटा कम्पनी र दोस्रो प्याकेजमा एउटा कम्पनी मात्रै छनोट भएकोमा प्रतिस्पर्धा हुन नसकेको जुन प्याकेज (दोस्रो प्याकेज) छ जसमा एउटा मात्रै कम्पनी छनोट गरिएको, त्यसलाई रद्द गरी प्रि- क्वालिफिकेसनको प्रक्रियाको सुरुवात गर्न समितिले निर्देशन दिएको छ,' समिति सचिव पाण्डेले भने । समितिमा फास्ट ट्र्याकको निर्माणसम्बन्धी नेपाली सेनाका अधिकारीले जानकारी दिएका थिए । फास्ट ट्र्याक निर्माणमा सार्वजनिक खरिद ऐन, नियमावलीमा भएका प्रावधान कार्यान्वयन भए/नभएका बारेमा पनि छलफल भएको थियो । यस्तै, सार्वजनिक लेखा समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि यथासक्य छिटो निर्देशिकाहरू तयार गर्ने र मापदण्ड कार्यविधि तयार गरेर अन्तर्राष्ट्रियस्तरको 'इन्जिनियरिङ प्रोकुरमेन्ट एण्ड कन्सट्रक्सन'सँग सम्बन्धित कागजात जारी गरेर निर्माणमा देखिएका कानुनी अवरोध हटाउन निर्देशन दिएको छ । ‘इपीसीसम्बन्धी जुन डकुमेन्टहरू बनाउनु पर्ने र सार्वजनिक खरिद संस्थाहरूलाई उपलब्ध गराउने सार्वजनिक खरिद अनुगमन कार्यालय छ उसले डकुमेन्टहरू तयार नगरिदिँदा यी समस्या आएको भन्ने महसुस भएको हुनाले समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि निर्देशन दिएको छ,' उनले भने । फास्ट ट्र्याक निर्माणका क्रममा सेनाले दोस्रो प्याकेजअन्तर्गत मकवानपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर गरी दुईवटा सुरुङमार्ग र पुल निर्माणका लागि चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनलाई मात्र प्रि–क्वालिफिकेसनमा छनोट गरेको थियो । जसलाई लिएर संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो ।

images
प्रकाशित मिति :चैत्र १९, २०७७ बिहिवार - २०:५६:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology