विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । बुधबार बसेको सो प्रदेश माओवादी केन्द्र संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादी केन्द्रले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिने भएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगरले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थनका साथै मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिने निर्णय भएको बताए । प्रदेशसभाको चैत २३ गते बस्ने बैठक अगावै सरकारलाई दिएको समर्थन फिर्ता लिने उनको भनाइ थियो । तत्कालीन नेकपाले मुख्यमन्त्री राईविरुद्ध २३ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित पुस १२ गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माओवादीका तत्कालीन संसदीय दलका नेता टंक आङ्बहाङलगायत एमालेका गरी २३ जना प्रदेशसभा सदस्यले लिखित रुपमा हस्ताक्षर फिर्ता लिइसकेका छन् ।