काठमाडौं । माओवादी केन्द्रले वागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमबार काठमाडौंको बबरमहलमा बसेको माओवादी केन्द्र वागमती प्रदेशको संसदीय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पूर्व मन्त्री युवराज दुलालले जानकारी दिए । बैठकले गत पुस १० गते वागमती प्रदेशसभा सचिवालयमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपाका ४५ जना सदस्यहरुको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेको उनले बताए । बैठकबाट वागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्कट्टेललाई सर्वसम्मत चयन गरेको छ भने दलको उप–नेतामा कुमारी मोक्तान चयन गरेको छ । दलको प्रमुख सचेतकमा नेता बुद्धिमान माझी र सचेतकमा नेतृ प्रतिमा श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै बैठकले वागमती प्रदेशमा प्रमुख प्रतिपक्षी दलको भूमिका शसक्त रुपमा प्रस्तुत गर्ने निर्णय गरेको उनले बताए । बागमती प्रदेशमा कुल ११० जना प्रदेशसभा सदस्यमध्ये माओवादी केन्द्रका २३ जना सदस्यहरु रहेका छन् । सर्वोच्च अदालतले नेकपालाई खारेज गरी नेकपा एमाले र माओवादी केन्द्र ब्युत्याइदिएपछि दुवै पार्टीले छुट्टा छुट्टै जाने निर्णय गरेको थियो । यो निर्णय संगै यस अघि प्रदेशमा प्रमुख प्रतिपक्षी दलको भुमिका निर्वाह गरेको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भुमिका गुमाएको छ । बागमती प्रदेशमा नेपाली काँग्रेसको २२ जना सदस्य रहेको छन् भने विवेकशील साझाको ३, नेमकिपाको २, राप्रपाको २ र स्वतन्त्र सदस्य १ जना रहेका छन् । त्यस्तै बागमती प्रदेशमा ५७ जना सांसद रहेको नेकपा एमालेको बहुमतको सरकार कायम छ ।