Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मागभन्दा चार गुणाले भरे तथ्यांक विभागको आवेदन

मागभन्दा चार गुणाले भरे तथ्यांक विभागको आवेदन

दैनिकी न्यूज

१३, चैत्र २०७७
मागभन्दा चार गुणाले भरे तथ्यांक विभागको आवेदन
images

काठमाडौं । राष्ट्रिय जनगणनामा खटिने जनशक्तिका लागि मागेको भन्दा चार गुणाभन्दा बढीले आवेदन दिएका छन् । केन्द्रीय तथ्यांक विभागले अनलाइनमार्फत् करार कर्मचारी आह्वान गरेअनुसार अधिक संख्यामा आवेदन परेको हो । आवेदकमध्ये ५५ प्रतिशत महिला छन् भने ८७ जना लैंगिक अल्पसंख्यक समुदायको रहेको विभागले जनाएको छ । ‘अनलाइन प्रणालीले निवेदन दिन सजिलो भयो,’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘जनगणनामा खटिने कर्मचारी माग्दा अपेक्षा गरेभन्दा निकै बढीले अनलाइन आवेदन दिएका छन् ।’ जनगणना आगामी जेठ २५ देखि असार ८ सम्म देशभरि एकैसाथ हुने तालिका छ । विभागले ८ हजार सुपरीवेक्षक र ३९ हजार गणकको माग गरेको छ । त्यसमा १ लाख ९० हजारभन्दा बढीले आवेदन दिएका छन् । यो संख्या आवश्यकताभन्दा चार गुणा बढी हो । गणकका निम्ति न्यूनतम कक्षा १२ उत्तीर्ण गरेको र स्नातक उत्तीर्ण गरेकाले सुपरीवेक्षक बन्न पाउँछन् । न्यूनतम उमेर १८ वर्ष र अधिकतम पुरुष ४० वर्ष तथा महिला ४५ वर्ष नकाटेको छनोटमा पर्नेछन् । ‘अनलाइनबाट प्राप्त फाराम रुजु गर्ने काम भइरहेको छ,’ निर्देशक लामिछानेले भने, ‘आवेदकको शैक्षिक योग्यतालगायत व्यक्तिको पूर्ण विवरण भएकालाई छानिनेछ ।’ शैक्षिक योग्यतालाई मेरिटका आधारमा केलाइनेछ भने स्थानीय बसोबास, कार्य अनुभव र तथ्यांकशास्त्र वा जनसंख्याशास्त्रमा स्नातकोत्तर गरेका वा पढ्दै गरेकालाई प्राथमिकतामा राखिनेछ । साता दिनभित्र सुपरीवेक्षक छनोट गरिसक्ने र छानिएका आवेदकको नामावली जिल्ला जनगणना कार्यालयमा पठाइनेछ । जिल्लाले छनोटमा परेका आवेदकलाई अन्तर्वार्तासहित दुई महिनाका निम्ति सुपरीवेक्षक नियुक्ति दिनेछ । दोस्रो चरणमा आगामी वैशाख २० गतेभित्र गणक छनोट हुनेछन् । ठाउँ विशेषअनुसार अपांगता भएका, लैंगिक अल्पसंख्यक र स्थानीय भाषा बोल्न जान्नेलाई प्राथमिकता दिइने निर्देशक लामिछानेले बताएका छन् । एक महिनाका निम्ति गणक खटाइनेछन् । गणक घर–घरमा पुगेर घरमूलीसँग सम्पर्क गरी विवरण लिनेछन् । जनगणना कार्यमा खटिने प्रत्येक कर्मचारीका निम्ति पाँच लाख रुपैयाँको जीवन बिमासमेत गरिने जनाइएको छ । विभागले सात प्रदेश, ७७ जिल्ला र केही ठूला जिल्लामा एकभन्दा बढी रहने गरी ८७ वटा जनगणना कार्यालय स्थापना गरी अधिकारी तोकेर कर्मचारी खटाएको छ ।

images
प्रकाशित मिति :चैत्र १३, २०७७ शुक्रवार - २३:११:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology