काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टीमा फेरबदल गरेको भोलिपल्टै एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ । सो समुहको आज बसेको केटिमी बैठकले समानान्तर संरचना बनाएको हो।
विस्तारित कमिटिअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, बागमती प्रदेशको जिम्मा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीको जिम्मा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ ।
यस्तै, सो समूहले विभागको पनि गठन गरेको छ । बैठकले रघुजी पन्त युवा विभाग, गोकर्ण बिष्टलाई विद्यार्थी विभाग, योगेश भट्टराईलाई प्रचार विभाग, अष्टलक्ष्मी शाक्यलाई महिला विभाग र प्रमेश हमाल बुद्धिजीवी विभागको प्रमुख तोकेको छ।
शुक्रबार बसेको ओली पक्षको बैठकले नेपाल-खनाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा रहेका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो।