काठमाडौं । नेकपा (एमाले) को दशौँ महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले पार्टीको दशौँ महाधिवेशनको मिति तय गरेको हो।
माधव नेपाल पक्षलाई जानकारी नदिई गरिएको बैठक बोलाइएको थियो भने अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएको छ।
त्यसैगरी बैठकले प्रदेश १ को नयाँ इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा ‘बादल’, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई बनाउने निर्णय गरेको हो। थापा र भट्ट पूर्व माओवादी हुन् भने अरु एमालेका पुराना कार्यकर्ता मध्ये कै हुन। भट्टलाई भीम रावलले सम्हालिरहेको जिम्मेवारी दिइएको छ भने अष्टलक्ष्मी शाक्य हटाएर रामबहादुर थापा बादललाई ल्याइएको छ।
बैठकले रामबहादुर थापा ‘बादल’सहित २३ जना माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित पनि गरेको छ। जसअनुसार माओवादीसँग एकता गर्दा मनोनित ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन्। योसँगै अब एमालेको केन्द्रीय कमिटी २ सय ६४ सदस्यीय भएको छ। त्यस्तै बैठकले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ।