Logo

शनिवार, आश्विन २४ गते २०८३

images

प्रहरी प्रभाग बालकुमारीको नवनिर्मित कार्यालय भवन आज उद्‍घाटन

प्रहरी प्रभाग बालकुमारीको नवनिर्मित कार्यालय भवन आज उद्‍घाटन

दैनिकी न्यूज

१९, फाल्गुण २०७७
प्रहरी प्रभाग बालकुमारीको नवनिर्मित कार्यालय भवन आज उद्‍घाटन
images

ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले महानगरीय प्रहरी प्रभाग, बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरे ।

Prabhag Balkumari.JPG

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक पालले नवनिर्मित भवनको निरीक्षण गर्नुको साथै भवन निर्माणमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रशंसापत्र तथा प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले नवनिर्मित भवनबाट आमनागरिकको सुरक्षा प्राप्ति र स्थानीय जनताको भरोसा केन्द्रको रूपमा स्थापित गर्नसके भवन निर्माणले सार्थकता पाउने उल्लेख गरे । साथै नयाँ भवनबाट उत्कृष्ट प्रहरी सेवा प्रदान भई स्थानीय समुदायको साझेदारीमा समाजमा शान्ति सुरक्षा र सु–व्यवस्था कायम गर्ने कार्यको लागि सहयोगी सिद्ध हुने विश्वास उनले व्यक्त गरे ।

उक्त अवसरमा कार्यक्रमका विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नवनिर्मित भवनबाट प्रहरीले प्रवाह गर्ने सेवा उच्च हुनुपर्ने बताए । साथै ललितपुर महानगरपालिकाले स्मार्ट सिटिको अवधारणा अनुरुप सुरक्षालाई मुल विम्बको रुपमा अवलम्वन गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डि प्रसाद निरौलाले नवनिर्मित भवनले प्रहरी कर्मचारीमा नयाँ उर्जा दिई प्रहरीको कार्य सम्पादन अझ बढी प्रभावकारी हुने उल्लेख गरे ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक प्रज्वल महर्जनले धन्यवाद ज्ञापन तथा प्रहरी नायव उपरीक्षक ई. रोशन सारु मगरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त भवन राष्ट्रिय पुनः निर्माण प्राधिकरणको १ करोड ७१ लाख १५ हजार ८ सय ८८ रुपैयाँ ६३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । करिब ४ हजार २८२ दशमलव ४८ वर्गफिट क्षेत्रफलमा निर्मित साढे २ तले उक्त भवनमा कार्यालय प्रमुख कक्ष, व्यारेक, भान्साकोठा, थुनुवा कोठा सहित जम्मा ११ वटा कोठा रहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - १५:१५:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology