काठमाडौं । प्रतिनिधिसभा विघटन सही कि गलत भन्नेमा एमिकस क्युरीमा ४ र १ भएर राय व्यक्त भएको छ । चार एमिकस क्युरीका सदस्यले प्रतिनिधिसभा विघटन गर्नु गलत भनेका छन् भने एक सदस्यले मात्रै प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानु सही भन्दै राय व्यक्त गरेका हुन् ।
एमिकस क्युरीमा नेपाल बारबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनाली थिए भने सर्वोच्च अदालत बारको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता पाठक संग्रौला थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा स्वतन्त्र राय लिनका लागि माघ १० गते संवैधानिक इजलासले एमीकस क्युरी (अदालतको सहयोगी) गठनको निर्णय लिएको हो । इजलासले नेपाल बार एसोसिएसनबाट तीन र सर्वोच्च बार एसोसिएनबाट दुई गरी पाँच कानुन व्यवसायी । एमिकस क्युरी थिए । रिट निवेदकका कानुन व्यवसायी र विपक्षीका कानुन व्यवसायीको बहस र निवेदकका कानुन व्यवसायीको जवाफी बहस सकाएपछि इजलासलाई राय दिने प्रचलन छ । जसअनुसार एमिकस क्युरीले शुक्रबारसम्म राय दिएसँगै प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामाथिको बहस सकिएको छ । प्रतिनिधिसभा विघटन संवैधानिक हो कि असंवैधानिक भन्नेमा समाजसँगै एमिकस क्युरीमा पनि फरक-फरक मत रहे । माघ ४ गतेदेखि रिट निवेदक र विपक्षीका कानुन व्यवसायीका बहस सुनेको एमिकस क्युरी संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था छ कि छैन ? प्रतिनिधिसभा विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले अन्तरनिहीत, विशेष वा अविशिष्ट अधिकार दिएको छ कि छैन ? र, प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीले दाबी गरेजस्तो राजनीतिक हो कि न्यायिक निरुपणको विषय हो ? भन्नेमा एकमत हुन सकेन र ४ जना पुनर्स्थापनाको पक्षमा उभिए भए एकजनाले विघटनको पक्षमा बहस गरे।