जनकपुर । सरकारले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेको छ । शुक्रबार सरकारको सिफारिसमा रास्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई बर्खास्त गरेर राजेश झालाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसैबीच कांग्रेसले प्रदेश २ मा शुक्रबार भएको प्रदेश प्रमुख बर्खास्ती र नयाँ नियुक्तिप्रति आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै कामचलाउ स्थितिमा पुगेको सरकारले स्वेच्छाचारी ढंगले बर्खास्त, नियुक्ति आदि काम गर्न नमिल्ने बताएका हुन् । केपी ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखको गरिमा थप घटाउने कार्य गरेको र निर्वाचन घोषणा गर्ने तर बर्खास्त र नियुक्तितर्फ लाग्नु आपत्तिजनक भएको कांग्रेसले टिप्पणी गरेको छ । 'सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।' कांग्रेसले नियुक्ति, बर्खास्तीको कार्य अविलम्ब रोक्नसमेत सरकारलाई चेतावनी दिएको छ । 'संसद् विघटनको असंवैधानिक कदमपश्चात् कामचलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न,' विज्ञप्तिमा भनिकएको छ, 'अतः यसप्रति कडा विरोध जनाउँदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ ।' सरकारले सातै प्रदेशमा २०७६ कात्तिक १९ गते प्रदेश प्रमुख नियुक्त गरेको थियो ।