काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधि सभा विघटन प्रती आफ्नो असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उपराष्ट्रपति पुनले पहिलो पटक सो कदमबारे असन्तुष्टि जनाएका हुन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले प्रतिनिधिसभा विघटनपछि मुलुकमा गहिरिँदो राजनीतिक संकट उत्पन्न भएको र त्यसले जनतामा निराशा र आक्रोश छाएको बताए । उनले भने,‘नेपाली जनता राजनीतिक स्थायित्व, समृद्धि, विकास निर्माण, आर्थिक सामाजिक जीवनमा परिवर्तनका साथै संविधानको पालन, संरक्षण र संविधान प्रदत्त अधिकार प्रयोग गर्न चाहन्छन् ।’ उपराष्ट्रपति पुन यसअघि पनि राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिरामी परेको भन्दै संवैधानिक आयोगका पदाधिकारीहरुको शपथग्रहणमा उपस्थित भएका थिएनन् । संसद् विघटनबारे भने दुई महिनासम्म मुख नखोलेका उपराष्ट्रपति पुनले बुधबार त्यसलाई लिएर आपत्ति जनाएका हुन् । उनले संविधान र कानुनको पालन गर्नु सबै नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै भने,‘देश अहिले राजनीतिक संकटको भूमरीमा छ । प्रतिनिधिसभा विघटन गरिएको छ । यसको विरोध र समर्थनमा प्रदर्शन भइरहेका छन् ।’ उनले नागरिकस्तरबाट गणतन्त्रको प्रस्ताव गर्ने पहिलो संस्था नेपाल पत्रकार महासंघको तर्फबाट पत्रकारहरुले प्रतिनिधिसभा विघटन भएकै दिन यसलाई ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानको संवैधानिक व्यवस्थाविरुद्ध’ भनेको पनि उल्लेख गरे ।