काठमाडौँ । प्रहरीले नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा नेतृ रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो । चौतर्फी विरोध र दबाबपछि प्रहरीले झाँक्रीलाई विहिबार साँझ नै रिहा गरेको छ । रिहापछि नेतृ झाँक्रीले संविधानको धज्जी उठाउनेको बिरुद्ध आफू बोलिरहने बताइन् ।
पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । प्रहरीले आफै पक्राउ पुर्जी जारी गर्दै झाँक्रीलाई शंखमूलस्थित उनको निवासबाटै नियन्त्रणमा लिएको थियो ।
झाक्रीको रिहाइको माग गर्दै नेकपा युवा संगठनले बिहीबार नै आन्दोलन चर्काएका थिए ।
राज्यविरुद्धको कसुर गरेको आरोपमा नेतृ झाँक्रीलाई प्रहरीले बिहीबार शंखमूलस्थित घरबाटै पक्राउ गरेको थियो । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोग झाँक्रीविरुद्ध छ।