काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो ।
प्रहरी अपराध महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न घरमै पुगेको हो । सोधपुछका लागि बोलाएपनि उपस्थित नभएपछि घरमै प्रहरी पुगेको हो । शंखमुलस्थित उनको निवासमा सादा पोशाकका प्रहरी पुगेका हुन्। १० बजे सोधपुछको लागि बोलाइएको झाँक्री महानगरीय अपराध महाशाखामा उपसिथत नभएपछि सादा पोसाकमा प्रहरी उनकै निवास पुगेको हो।
अकस्मात प्रहरीको झाँक्रीको घरमा पुगेपछि उनका सार्थकहरुले पुलिस हस्तक्षेप बन्द गर, रामकुमारी झाँक्री हाइहाइ, खड्ग ओली बाइबाइ लगायतका नारा लगाएका थिए ।
राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर अनेम संघले झाक्रीलाई कारबाही गर्न माग गरेको थियो । उनले दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न बोलाइएको थियो । तर, झाँक्री हाजिर नभएपछि प्रहरी उनलाई पक्राउ गर्न घरमै पुगेको हो । अहिले झाँक्री निवासमा उनका समर्थकले नाराबाजी गरिरहेका छन्।