Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आज प्रचण्ड–माधव पक्षको विशाल सभा, ५ स्थानबाट जुलुस निस्कने

आज प्रचण्ड–माधव पक्षको विशाल सभा, ५ स्थानबाट जुलुस निस्कने

दैनिकी न्यूज

२८, माघ २०७७
आज प्रचण्ड–माधव पक्षको विशाल सभा, ५ स्थानबाट जुलुस निस्कने
images

काठमाडौं । आज प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले काठमाडौंमा प्रदर्शन गर्दैछ ।

विरोधसभा अघि काठमाडौंका विभिन्न स्थानबाट जलुस निकाल्ने तयारी भएको छ । आजको सभालाई नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।

सो समूहको केन्द्रीय सङ्घर्ष समितिले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार आज पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।

त्रिपुरेश्वरबाट निस्कने जुलुसलाई अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्मालगायतले नेतृत्व गर्नेछन्। जुलुसमा वर्षमान पुन, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतका नेताहरु पनि हुनेछन्।

त्यस्तै पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्तलगायतले गर्नेछन्।

माइतीघरबाट शुरु हुने जुलुसलाई अमृत बोहरा, गिरिराजमणि पोखरेल, गणेश साह, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेललगायत नेताहरुले नेतृत्व गर्नेछन्।


त्यस्तै केशरमहलबाट शुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायत नेताहरुले गर्नेछन्। त्यसैगरी जमलबाट आउने जुलुसलाई लीलामणि पोख्रेललगायत नेताहरुले अगुवाइ गर्ने छन्।

मुल जुलुस राजधानीको विभिन्न स्थान हुँदै काठमाडौंको प्रदर्शनी मार्गस्थित सभास्थलमा जम्मा हुने कार्यक्रम तय भएको नेकपाले जनाएको छ।

उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालले मंगलबार भिडियो सन्देशमार्फत् प्रदर्शनमा सहभागी हुन सम्पूर्ण जनसमुदायलाई आह्वान गरेका थिए। त्यसअघि उक्त समूहले यही माघ ९ गते पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो । 

भृकुटीमण्डपमा आयोजना गरिने विरोधसभामा २ लाखभन्दा बढी मानिस सहभागी हुने मञ्च व्यवस्थापन संयोजक सूर्य सुवेदीको दाबी छ। सभामा अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नेछन्।

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - ०७:२१:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology