काठमाडौं । काठमाडौं उपत्यकाका चन्द्रागिरी डाँडा र ललितपुर फुल्चोकी लगायतका उच्च डाँडाहरुमा हिउँ परेको छ ।
शनिबार बेलुकादेखि हिउँ परेपछि आज बिहानदेखि चिसो बढेको छ । उपत्यका आसपासका डाँडामा सामान्य हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उता मकवानपूरको पर्यटकिय नगरी दामनमा पनि हिउँ परेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ भने उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका केही ठाउँमा पानी पनि परेको महाशाखाले जनाएको छ ।
आजराति पनि केहि ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने अनुमान गरिएको छ । भोलिदेखि भने मौसममा सुधार आउन सक्ने महाशाखाले जनाएको छ ।
चिसो अझै रहिरहने तथा तराईका भू–भागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २५ गते (आइतबार)
दिउँसो : प्रदेश १ को पहाडी भू-भागमा आंशिक वदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।
माघ २६ गते (सोमबार)
दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
माघ २७ गते (मंगलबार)
दिउँसो : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।