काठमाडौं । बिहीबार नेकपा प्रचण्ड–नेपाल समूहले आमहड्ताल आव्हान गरेको छ । संवैधानिक परिषद नियुक्तिका साथै सरकारको प्रतिगमनकारी कदमका विरुद्ध सो समूहले आमहड्ताल आव्हान गरेको हो ।
आमहड्ताल आव्हान गरिएसँगै विहानैदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुमा तोडफोड र आजगनी सुरु भएको छ ।
गोंगबूमा एउटा ट्याक्सीमा बन्दकर्ताहरुले आगो लगाइदिएका छन् । आगलागीबाट पूर्ण रुपमा जलेका छन् । त्यस्तै काठमाडौंका विभिन्न स्थानमा ५ भन्दा बढी ट्याक्सी, बसमा तोडफोड भएको छ ।
प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेका छन् ।
नेकपाका युवा नेता रामप्रसाद सापकोटाले गोंगबु क्षेत्रबाट पनि नेकपाका कार्यकर्ताहरु पक्राउ परेको सामाजिक सञ्चाज मार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘गोंगबु सामाखुसीबाट एकाबिहानै ओली सरकारले गिरफ्तार गरेका युवाहरू मिलन तमाङ,समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दछौं ।’
आमहड्तालका बेलामा पनि परीक्षाका लागि हिडेका विद्यार्थीहरुलाई भने सहजीकरण गरेर जान दिने नेकपाका नेता रामप्रसाद सापकोटाले जानकारी दिए ।
तरकारी बोक्ने, दुध बोक्ने गाडीहरु चलेका छन् । विहानैदेखि आमहड्तालकारीहरु सडकमा निस्कन खोजेका छन् । तर, बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिति छ ।