काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका नेता घनश्याम भुसालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङले देश नचल्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार भृकुटीमण्डपमा आयोजित विरोधसभामा बोल्दै भुसालले प्रधानमन्त्री ओलीलाई सबैतिर सेटिङ मिलाउन नदिइने बताए । 'अब केपी ओलीका जालझेल र षड्यन्त्रलाई कुनै हालतमा पूरा हुन दिइनेछैन । सबैले केपी शर्मा ओलीले सेटिङ गरिरहेका छन् भन्ने गरेका छन् । तर अब केपी ओलीको सेटिङले देश चल्दैन, सेटिङ त जासुसी उपन्यासहरुमा मात्र सफल हुन्छ,' भुसालले भने, '२१औं शताब्दीमा सेटिङ मिलाएर अदालतलाई दबाउन सकिन्छ भन्ने भ्रम पाल्नु भएको छ भने कमरेड ओली तपाईंले गलत गर्दै हुनुहुन्छ । यसै कारण तपाईं भोलि पराजित हुनुहुनेछ ।' भुसालले सम्बोधनका क्रममा भने, 'संविधानलाई बन्धक बनाएर केपी ओली ताण्डव नाच्दै हुनुहुन्छ । विभिन्न जालझेल गरेर भए पनि आफूले जित्ने निश्चित नभएसम्म केपी ओलीले चुनाव गराउनुहुन्न । कसैले चुनावको अपेक्षा गरेका छन् भने त्यो भ्रम हो । चुनाव हुनेवाला छैन ।'