काठमाडौं । नेपालको संविधानले निश्चित विवादहरूको निरूपण गर्नका लागि संवैधानिक इजलासको व्यवस्था गरेको छ। उक्त इजलासमा यसअघि न्यायाधीस हरिकृष्ण कार्की थिए । आफूमाथि प्रश्न उठेपछि इजलासमा नबस्ने न्यायाधीश कार्कीले घोषणा गरेको थिए । ५ सदस्यीय उक्त इजलासमा न्यायाधीश कार्कीको स्थानमा सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश चौलेन्द्र शमशेर जबराले नियुक्त गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा न्यायाधीश सपना प्रधान मल्ललाई समेटेर संवैधानिक इजलास गठन गरेका हुन् ।
केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा महान्यायधिवक्ता रहेका कार्की प्रधानमन्त्री ओली नै विपक्षी रहेको रिटमाथिको सुनुवाइमा बस्न नमिल्ने भन्दै चौतर्फी विरोध भएको थियो । गत बुधबार न्यायाधीश कार्कीले आफूमाथि प्रश्न उठेपछि इजलासमा नबस्ने घोषणा गरेका थिए ।
गठित संबैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसी छन् ।
मल्ल प्रधानन्यायाधीशको रोलक्रममा छिन् ।
रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्न माग गर्दै अदालतमा पूरक निवेदन दिएका थिए। यसअघि प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा वृहत पूर्ण इजलासमा सुनुवाई गरिएको नजिर रहेको भन्दै कानुन व्यवसायीले कम्तीमा ११ जना न्यायाधीश रहेको वृहत पूर्ण इजलासमा सुनुवाई गर्नुपर्ने माग गरेका छन्।