काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्।
प्रहरीले चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङगाबाट स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित सोमबार बिहान एक जनालाई पक्राउ गरेको हो।
चितवन माडी नगरपालिका वडा नं. ६ बस्ने २६ वर्षीय रामकुमार गुरूङलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ।
उनीबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको अर्को चेक पनि बरामद भएको प्रहरीले जनाएको छ।
उनी चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९१३९ नम्बरको माइक्रो बसमा आएका थिए ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले गाडीमा सवार उनको झोला जाँच गरेको थियो। त्यसैक्रममा लुकाएर ल्याइएको नगद र चेक फेला परेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।