Logo

शनिवार, आश्विन २४ गते २०८३

images

प्रचण्ड नेपाल समूहले आज देशैभर प्रदर्शन गर्ने

प्रचण्ड नेपाल समूहले आज देशैभर प्रदर्शन गर्ने

दैनिकी न्यूज

१४, पौष २०७७
प्रचण्ड नेपाल समूहले आज देशैभर प्रदर्शन गर्ने
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने असंवैधानिक कदमको विरोध जनाउँदै आन्दोलनरत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मंगलबार देशैभर प्रदर्शन, जुलुुसको आयोजना गर्ने भएको छ । मंगलबार बिहान ११ बजेदेखि देशैभर प्रदर्शन हुने नेकपाका नेताहरूले जनाएका छन् ।

काठमाडौं उपत्यकामा विभिन्न स्थानबाट जुलुस निस्कने तयारी रहेको छ । टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूस निकाल्ने तयारी गरिएको नेकपा केन्द्रीय सङ्घर्ष समितले जनाएको छ ।

आजको प्रदर्शनका लागि उपत्यकाका आसपासका जिल्लाहरू प्रदर्शन पनि काठमाडौं नै केन्द्रित गरिएको छ ।

पूर्व सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरको जुलुस बानेश्वरबाट निस्कने छ । मकवानपुर, चितवन, धादिङको जुलुस टेकुमा मिसिने छ । नुवाकोट, रसुवाका लागि लैनचौर तय गरिएको छ । ललितपुरको जुलुस कुपनडोलबाट सुरु भएर भृकुटीमण्डप आइपुग्ने नेकपाले बताएको छ ।

स्थायी कमिटी सदस्य युवराज ज्ञवाली वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहराले जुलूसको नेतृत्व गर्ने बताइएको छ ।

भृकुटीमण्डपमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - ०८:१५:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology