Logo

शनिवार, आश्विन २४ गते २०८३

images

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीद्वारा राजिनामा

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीद्वारा राजिनामा

दैनिकी न्यूज

१२, पौष २०७७
प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीद्वारा राजिनामा
images

काठमाडौं । प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । उक्त समूहका ‍‍‍‍३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । ‍‍‍प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो ।

अविश्वास प्रस्तावको प्रस्तावकमा आङ्बो र समर्थक लक्ष्मण तिवारी छन् । उक्त समूहले प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने भएको छ । संसदीय दलको चुनावमा २६ मत ल्याएका राईले आचार्यलाई दुई मतले हराएका थिए ।

अविश्वास प्रस्तावको तयारीमा अगुवाइ गरेका प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोलाई शनिबार साँझ मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए ।

९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ जना छन् । नेकपाका ६७ जनामध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् ।

दाहाल–नेपाल पक्षधरले २२ जनाभन्दा कम प्रदेशसभा सदस्य मुख्यमन्त्री राईसँग रहेको दाबी गर्दै आएका थिए । मुख्यमन्त्री राई पक्षधरले भने ३५ भन्दा बढी प्रदेशसभा सदस्यहरू आफूहरूसँग रहने दाबी गरेका थिए । प्रदेशसभामा बहुमतका लागि ४७ जना सदस्य चाहिन्छ ।

प्रदेश १ का तीन मन्त्रीले आइतबार बिहान सामुहिक राजिनामा दिएका छन्। सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजिनामा दिएका हुन्।

प्रचण्ड–माधव पक्षका आङ्बोलाई पदमुक्त गरेसँगै सोही पक्षका तीन मन्त्रीले पनि राजिनामा दिएका हुन्। आफू विरुद्धको अविश्वासको पत्रमा हस्ताक्षर गराउँदै हिँडेको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेका थिए।

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - ११:४५:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology