ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सांसद पम्फा भुसालले संसद अधिवेशन नबाेलाउँदा आफ्ना भनाई राख्न नपाएकाे बताएकी छिन । नेपाल पत्रकार महासंघ ललितपुरकाे एघाराैं अधिवेशनकाे उद्घघाटन गर्दै उनले संसद बन्द भएकै कारण जनताको समस्याबारे आवाज उठाउन नपाएको बताइन । ‘हामीले हाम्राे भनाई राख्ने संसद अधिवेशन नै छैन, हाम्रै अभिव्यक्ति दिने ठाउँ बन्द हुँदा जनताको आवाज उठाउन पाएका छैनौं ।' उनले आफुहरु संसद अधिवेशन खुल्ने दिन कुरेर बसेको पनि जानकारी दिइन । 'संविधान: ६ महिना फरक गर्न हुन्न भन्ने छ, पुस १७ गते सम्म बैठक बोलाउनैपर्ने संबैधानिक बाध्यता छ, हामी त्यही दिन कुरेर बसेका छाैं ।’ उनले भनिन् । नेतृ भुसालले निहित स्वार्थमा केन्द्रित पत्रकारिता गर्न नहुने समेत जनाएकी छिन् । पत्रकारहरू राष्ट्र, जनता र पेशाबाट अलग हुनै नसक्ने उनकाे भनाई छ । उनले श्रमजिवि पत्रकारहरूकाे समस्या जटिल बनेकाे उल्लेख गर्दै व्यवहारिक रूपमा हल गर्न लाग्नु पर्नेमा जाेड दिइन् । मिडिया सम्बन्धी विधेयक पत्रकारकाे हितमा हुने गरि गराउन पहल गराउने उनले प्रतिवद्वता जनाएकी छिन् । कार्यक्रममा नेपाल पत्रकार महासँघ केन्द्रिय उपाध्यक्ष दिलिप थापा मगरले कोरोनाको बेलामा केही मिडिया हाउसहरुले श्रमजीवी पत्रकारलाई निकालेको भन्दै तत्काल पुनर्बहाली नगरे छिट्टै आन्दोलनको कार्यक्रम ल्याउने चेतावनी दिए । उपाध्यक्ष थापामगरले पत्रकारलाई योगदानको आधारमा नियमित भत्ता दिने व्यवस्था मिलाउन लागेको जानकारी दिए । पत्रकार महासँघ ललितपुरको एघारौं अधिवेशनलाई सामाजिक संजाल फेसबुकबाट प्रत्यक्ष प्रशारण र भर्चुअल विधिबाट पनि सदस्यहरू सहभागी भएका थिए ।