ललितपुर । चोरी भएको नाटक गरी प्रहरीलाई अनावश्यक दुःख दिने एक महिला प्रहरीको फन्दामा परेको छ ।
आइतबार महानगरीय प्रहरी वृत्त सातदोबाटोले चोरीको अफवाह फैलाउने महालक्ष्मी नगरपालिका वडा नं. १ का कान्छी पोडेलाई नियन्त्रण लिएको हो ।
महालक्ष्मी–१ सानु कान्छा पोडेको घरमा २६ लाख नगद, २ तोला सुनको सिक्री १ थान, १ तोलाको सुनको सिक्री १ थान, २ तोलाको हातमा लगाउने बाला १ थान, कानमा लगाउने झुम्का आधा तोला १ जोर, ५ तोलाको चाँदीको पाउजु १ जोर र २० तोलाको चाँदीको मन्दिर समेत चोरी भएको भनि महानगरीय प्रहरी वृत्त सातदोबाटोमा मौखिक जानकारी आएको थियो ।

चोरी भएको घटना प्राप्त हुनसाथ तत्काल वृत्त सातदोबाटोबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) मित्रबन्धु शर्मा र प्रहरी निरीक्षक विजय तिमल्सिनाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी घटना स्थल हेर्दा ढोका फोडिईएको, दराज फोडिईएको, सामानहरु छरपष्ट अवस्थामा रहेको महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।
उनले भने, ‘चोरी भएको घटना बारेमा सुक्ष्म रुपमा अनुसन्धान गर्दा घटनास्थल चोरी भएकै जस्तो देखिने गरी घटनास्थल रहेकोमा, शंका लागि सोही घर खान तलासी गर्दा चोरी भएको भनिएको माथी उल्लेखित नगद तथा गर गहना सहितका सामानहरु घरकै माथिल्लो तल्लामा रहेको पुजा कोठामा घर धनी सानु कान्छा पोडेको श्रीमती कान्छी पोडेले उक्त पुजा कोठामा रहेको स्टिलको दराजको सेफ भित्र लुकाएको अवस्थामा प्रहरी टोलीले फेला पारेको हो ।’
चोरी नै नभएको उक्त चोरी भयो भनि झुठा अफवाह फैलाउने घर धनी कान्छी पोडेलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान तथा कारबाही भईरहेको महर्जनको भनाई छ ।
